समाचार

सडक निर्माणमा चरम लापरवाही : निर्माणकार्य सम्पन्न नहुँदै कालोपत्रेमा चिरा

महोत्तरी- निर्माणकार्य सम्पन्न नहुँदै महोत्तरीको गौशाला सम्सी सडकखण्डको पिच (कालोपत्रे) सडक भागमा चिरा पर्न थालेको छ । गौशाला निगौल चोक भन्दा दक्षिणतर्फको विभिन्न स्थानमा कालोपत्रे निर्माणकार्य जारी रहँदै सडकको विभिन्न ठाउँमा चिरा पर्न थालेको हो ।स्थानीयवासीय सुरेन्द्रकुमार सिंहका अनुसार रातिको समयमा सडकको क्षमता भारभन्दा बढी तौलका टिपर निर्वाध गुडेपछि सडकमा चिरा पर्न थालेको हो । पछिल्लो समयमा स्थानीयवासीले प्रहरीको सहयोगमा सडक बिग्रन नदिनका लागि भारी क्षमताको सवारीसाधन चलाउनमा रोक लगाउँदै आएको सिंहले बताउनुभयो ।

हुलाकी सडकको निर्माणका क्रममा सडक विभागले दिएको निर्देशन विपरीत सो सडकमा पछिल्लो समयमा ३० टन बराबरको तौलका १० चक्के सवारीसाधन चलेको गौशाला बडा नं– २ का वडा सदस्य कुमरकान्त झाले जानकारी दिनुभयो । सडकमा हाल दैनिक रुपमा ५९ वटा टिपर सञ्चालनमा रहेको झाले बताउनुभयो ।आफूले आइतबार यस सम्बन्धमा नगर कार्यपालिकाको बैठकमा प्रस्ताव राखे पनि सो उपर ठोस् निर्णय हुननसकेको झाले बताउनुभयो । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक किशोर आचार्यले सडकमा चल्ने सवारी साधनको भार क्षमताको निगरानी गर्ने कार्य प्रहरीको नभएको बताउनुभयो । यसको निगरानी जिल्ला प्रशासन कार्यालय, हुलाकी सडक विभागको रहेको प्रहरी निरीक्षक आचार्यले बताउनुभयो ।

सडक निर्माणको क्रममा गुणस्तरीय कार्य हुन नसक्दा सडक बिग्रन थालेको गौशाला नगरपालिकाका नगरप्रमुख शिवनाथ महतोले स्वीकारनु भएको छ । आइतबारको नगरकार्यपालिकाको बैठकमा समेत केही बेर यस विषयमा छलफल भएकोले आफूले यस सम्बन्धमा सम्बन्धित निकायलाई निगरानी गर्नका लागि अनुरोध गर्ने नगरप्रमुख महतोले बताउनुभयो ।स्थानीयवासीले सडक अवरुद्ध गरेर विकास निर्माणमा अवरोध नगरी सरोकारवाला निकायलाई समयमै सचेत गराएर समस्या समाधानको लागि पहल गर्न नगरप्रमुख महतोले सबैमा अनुरोध गनुभएको छ ।

जङ्गली हात्तीको आतङ्कले सर्लाही ईश्वरपुरवासी प्रभावित – जङ्गली हात्ती बस्तीमा पसेर आतङ्क मच्चाएपछि सर्लाही ईश्वरपुर नगरपालिकाका– १३ र १४ नं वडाका स्थानीयवासी त्रसित भएका छन् । पछिल्लो समयमा बस्तीको छेउमै रहेको सागरनाथ जङ्गल हुँदै रातिको समयमा आएको तीन हात्तीले बस्तीमा पसेर घर टहरा तथा धनमालमा क्षति पु¥याउँदै बालीसमेत खाएर सखाप पारेपछि स्थानीयवासी त्रसित भएका छन् ।

जङ्गली हात्तीले नगरपालिकाको हरकटवा तथा श्रीनगर क्षेत्रमा गरी २५ घरमा प्रत्यक्ष रुपमा क्षति पारेको छ । स्थानीयवासी त्रसित भई जीवनयापन गर्न बाध्य भएका छन् । स्थानीयवासी जीतन महतोले दिएको जानकारी अनुसार हात्तीको त्रासले रातिमा सुत्न नपाएपछि दिउँसो कामकाज छोडेर सुत्ने गरेको बताउनुभयो । महिला तथा छिमेकीको घरमा राखेर आफूहरु रातभरि नै जाग्राम बस्नुपर्ने बाध्यता रहेको स्थानीयवासी हीराबहादुर आलेले बताउनुभयो ।

Related Articles

g
Close